दशैं
यो दशैं नि गयो, यो दशैं नि यसै गयो। हुन त खुसी छ भन्ने सोचिरहेको होलान्, मेरो बुवाआमाले, तर खल्लो हुँदो रहेछ ती पल, जसमा नयाँ लुगा लगाएर, टीकाको साइत कुरेको। जसमा आमाले बनाएको भेराइटी नभए पनि, खसीको मासुमा झोल हालेको, र त्यो मिठो अचारको स्वाद। घरभरि मान्छेको भिड, आफन्तको आवतजावत, रमाइलो लाग्थ्यो जे भए पनि। आज लाग्छ, छन त सबथोक छ। छन त सबथोक छ पैसामा, पैसा छ, खानमा जे खाए पनि छ, लाउनमा जे लाए पनि छ। तर त्यो पैसा छैन, जसमा बहिनीसँग "तेरो यति, मेरो यति" भन्ने। त्यो मासु छैन, जसमा आमाको माया मिसिएको। त्यो नयाँ लुगा छैन, जसमा बाबाको परिश्रम परेको। छ दशैं, छ, तर कस्तो छ त्यो त भोग्नेलाई थाहा छ। छ दशैं, छ, बिहानको मर्निङ शिफ्ट, रातिको नाइट शिफ्ट र लथालिङ्ग पढाइको दशैं छ। भन्नेले भन्छन् रमाइलो छ नि, तर भोग्नेलाई थाहा छ। आफ्नो परिवारभन्दा टाढा, आफ्नो देशबाट बाहिर, आफ्नो संसार खोज्दै गरेको मान्छेलाई थाहा छ, रमाइलोको अनुभुति के हो भनेर, भोग्नेलाई थाहा छ। - दिपक कार्की
Poetry Books 50% Off
Bestselling collections from top poets
