"पारि भित्ता "
शिर्षक: आगनबाट देखिएको पारि भित्तामा 🏞️ आगनबाट देखिएको त्यो पारि भित्तामा, मेरा बाल्यकालका हाँसोहरू अझै टाँसिएका छन्, मलिलो धुलोमा खेलिएको खेल, र ओसिलो माटोमा लेखिएको सपना अझै बाँकी छन्। गाउँको बास्ना , गाईको घाँस, धुँवाको गन्ध, आमाको ढिकीको ताल, बुबाले जोत्ने हलो, लेकबेसिको त्यो रमाइलो बिहान, जहाँ पूर्खाको पसिना आज पनि माटोमा बसिरहेको छ। पारिको भित्तामा देखिन्छ इतिहास, हाम्रो जरा, हाम्रो गर्व, हाम्रो अस्तित्व, जहाँ हरेक ढुंगामा कथा छन्, र हरेक रुखमा सम्झनाको सास चलिरहेको छ। बाल्यकालको त्यो न्यानो घाम, काखमा अटाएको सानो संसार, युवावस्थामा गाउँ छोड्ने त्यो पिडा, अनि बुढेसकालमा फर्किँदा याद बनेका अतीतका तार। आज पनि आगनबाट हेर्दा लाग्छ, समय त बग्यो, तर मन त्यहीं रोकिएको छ, त्यो पारि भित्तामा मेरो जीवनको फिल्म चलेको छ, जहाँ म संगै मेरो चाहनाको सुरुवात भयो , पुराना घरका चिल्केका ढोका, झ्यालबाट आउँथ्यो बिहानको घाम, अब त्यो घाम नौ डाडाको छायामा हराएको छ, तर मन भने अझै त्यसै आगनमा थाम। लेकबेसिको हावा अझै उस्तै छ, तर सासमा अब शहरको धुलो मिसिएको छ, फर्किन मन गर्छ, हरेक झिल्कोमा गाउँको अनुहार देखिन्छ, किनकि आगनबाट देखिएको पारि भित्तामा मेरो जीवन, मेरो इतिहास, अनि मेरो आत्मा बसेको छ ✍️अबिना तामाङ
Poetry Books 50% Off
Bestselling collections from top poets
