गजल : "चेतनाको हार"
बिहानै स्कुल पठाएको छोरो, लास बनेर आउँदा कस्तो हुन्छ? त्यो कलिलो सपनाको दियो, रगतमा डुबेर निभाउँदा कस्तो हुन्छ? ७५ काख रित्तिए यहाँ, सयौं अझै छटपटीमा बाँचिरहेछन्, तिनलाई 'आतंककारी' भनी, शासकले अट्टहास लगाउँदा कस्तो हुन्छ? अरबौं लुटेर महल बनाउनेले, आज आगो झोसेर प्रमाण जलाए, आफ्नो पाप लुकाउन 'एआई' (AI) लाई, दोषी देखाउँदा कस्तो हुन्छ? छिमेकीको छोरो ढल्दा मुकदर्शक भयौ, ताली पड्कायौ तिमीले, त्यही तातो गोली आफ्नै सन्तानको, छातीमा सुताउँदा कस्तो हुन्छ? पुरानैलाई 'जिन्दगी' भन्छौ, अझै उनीहरूकै झन्डा बोक्छौ रे, देश बेच्नेको आरती उतारी, आफ्नै खुट्टामा बञ्चरो चलाउँदा कस्तो हुन्छ? खल्ती भरेर अरब लुकाउनेलाई, अझै 'भगवान' मानिरहन्छौ भने, सतिले सरापेको यो देशमा, तिम्रो चेतनाले हार खाँदा कस्तो हुन्छ? अब त आँखा खोल ए मान्छे, कतिन्जेल बन्छौ अन्धो दास यहाँ? आफ्नै भोटले आफ्नै सन्तानको, चिहान खन्दा कस्तो हुन्छ? ✍️अबिना तामाङ
Poetry Books 50% Off
Bestselling collections from top poets
